वरिष्ठ युरोलोजिष्ट प्राडा.अर्जुनदेव भट्टका एकसाथ चार कृति लोकार्पण गरिएको छ । प्राडा.भट्टका काठमाडौंमा एक विशेष समारोहबीच शनिबार वरिष्ठ समालोचक तथा पूर्वसचिव गोपीनाथ मैनालीको प्रमुख आतिथ्यतामा एक कथासंग्रह र तीन उपन्यास लोकार्पण गरिएको हो ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौंको आयोजनामा यसका सर्वपक्षीय संस्थापक हाल संरक्षक, अध्यात्म चिन्तक तथा कवि साहित्यकार हिरभक्त सिग्देलको सभापतित्वमा प्राडा.भट्टका ‘अविच्छिनता’, ‘अभिज्ञान प्रतीक्षा’, ‘कल्पनाको क्षितिजमा’ र ‘दोस्रो जीवनको चुरो’ लोकार्पण गरिएको थियो ।
सञ्चारकर्मी भैरवी भूगोलले सहजीकरण गर्नुभएको लोकार्पण समारोहमा समालोचकहरू कविन्द्र कलानिधि दाहाल, युवराज मैनाली, ठाकुर शर्मा भण्डारी र लीला लुइँटेलको विशिष्ट आतिथ्य, उपन्यासभित्र समावेश प्रतिनिधि पात्रहरूको हिृवल चियरमा आतिथ्य तथा वरिष्ठ साहित्यकार, पत्रकारहरूको भव्य सहभागिता थियो ।
सो अवसरमा चारै कृतिको चर्चापरिचर्चा तथा समीक्षा गरिएको थियो । ‘अविच्छिन्नता’को वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले समीक्षा गर्नुभएको थियो भने ‘अभिज्ञान प्रतीक्षा’को वरिष्ठ समालोचक लीला लुइँटेल, ‘कल्पनाको क्षितिजमा’को वरिष्ठ समालोचक युवराज मैनाली र ‘तेस्रो जीपनको चुरो’को कवीन्द्र कलानिधि दाहालले समीक्षा गर्नुभएको थियो ।
उहाँहरूले प्राडा.भट्टको आफ्नै लेखन शैली रहेको चर्चा गर्दा कृतिका बारेमा आ-आफ्ना धारणा राख्नुभएको थियो । सबै समक्षिकले प्राडा भट्टको लेखनशैलीको प्रशंसा गर्नुभएको थियो । चिकित्सिा क्षेत्रमा अहोरात्र आफूलाई समर्पण गर्नुभएका प्राडा.भट्टले नेपाली साहित्यमा पनि आफ्नो दह्रो उपस्थिति जनाएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो ।
कृतिको समीक्षापछि मेडिकेयर सञ्चालक समितिका अध्यक्ष तथा वरिष्ठ पेटरोग विशेषज्ञ प्रदीपकुमार यादव, साझा प्रकाशनका भेषराज घिमिरे, ओरियण्टल प्रकाशन प्रमुख तथा चिन्तक हरि गौतम, शारीरिक रूपमा फरक क्षमता भएका नवराज कार्की, साहित्यकार सिर्जना शर्मा (लेखककी बहिनी), डा.घनश्याम पुडासैनी, संस्कृत विश्वविद्यालयका उपप्राध्यापक गोविन्द दाहाल र धनकुमारी सुनवारले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मानव पुस्तकालयका विष्णुप्रसाद पन्तले स्वागत मन्तव्य र आशु कवि रामचन्द्र घिमिरेले कवितामार्फत् धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा चिकित्सा पेशासँगै आफूमा लेखनको नशा रहेका कारण कृतिहरू आइरहेको प्राडा.भट्टले बताउनुभयो । उहाँले जीवन एउटा संघर्ष भएको र कर्म सुख शान्तिको आधार भएको भन्दै किताबको मूल्यांकन पाठकलाई छोड्ने बताउनुभयो । कार्यक्रमका सभापति सिग्देलले प्राडा.भट्टसँग आफ्नो लामो संगत रहेको र उहाँले चिकित्सा क्षेत्रमा जति उचाइ प्राप्त गर्नुभएको छ साहित्य क्षेत्रमा पनि त्यतिकै प्रखर रहेको भनाइ राख्नुभएको थियो ।
https://ehimalayatimes.com/2024/12/292197/चिकित्सा पेशमा आफूलाई अग्रपंक्तिमा राख्दै बिरामीको सेवमा समर्पित गर्दै आउनुभएका प्राडा.भट्ट साहित्य लेखनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । विभिन्न सञ्चारमाध्यममा सचेतनामूलक लेखसहित उहाँले पुस्तक लेखनमा पनि आफूलाई सक्रिय राख्दै आउनुभएको छ ।
प्राडा. भट्टका यसअघि ‘बैतडीका केही स्थानीय शब्द’ (भाग-१) सहसम्पादन २०१७, ‘प्राकृतिक परिवार नियोजन’ (अगुवा पुस्तक) २०४७, ‘यौन प्रसारित रोगहरू’ २०४८, ‘एड्स प्रतिरक्षा प्रणाली विनाशक रोग’ २०४७, ‘मुटुको धडकन’ खण्डकाव्य २०७७, ‘अविस्मरणीय पलहरू’ कविता २०७७, ‘समय यात्रा’ (जलेश्वर-जनकपुर अस्पतालको सम्झना) २०७८, ‘मेरी आमाः दृढ प्रतिज्ञा नारी (स्मरण)-२०७८, डाक्टरको द्विविधा–२०७९, ‘मूत्र र जननेन्द्रिय प्रणाली (रोग निदान तथा उपचार) २०७९ र उपन्यास ‘युद्धविनाको युद्ध’ २०८०, उपन्यास ‘रूपान्तरण’ २०८० लगायतका कृति पाठकमाझ आएका छन् ।