वरिष्ठ युरोलोजिष्ट प्रा.डा अर्जुनदेव भट्टका चार कृतिको एकसाथ लोकार्पण भएको छ । भट्टका आख्यान विधाका चार कृतिको शनिबार एकसाथ लोकार्पण भएको हो ।
डा. भट्टका चार कृति अविछिन्नता, कल्पनाको क्षितिजमा, दोस्रो जीवनको चुरो र अभिज्ञान प्रतिक्षाको मिराकल पार्टी प्यालेस, सुकेधारा काठमाडौंमा लोकार्पण भएको हो । प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ समालोचक एवम् निबन्धकार गोपी मैनाली, अतिथि कलानिधि दाहाल, युवराज मैनाली, लीला लुइटेल र ठाकुर शर्मा भण्डारी, हरिभक्त सिग्देल ‘महेश’ एवम् लेखक भट्ट स्वयम्ले कृति सार्वजनिक गरेका थिए ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपालको आयोजनमा संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक कवि हरिभक्त सिग्देलको अध्यक्षता, निबन्धकार तथा समालोचक गोपी मैनालीको प्रमुख आतिथ्यता, समालोचकहरू कलानिधि दाहाल, युवराज मैनाली , ठाकुर शर्मा र लिला लुइटेलको विशिष्ट आतिथ्यता र उपन्यासभित्र समावेश प्रतिनिधि पात्रहरूकाे ह्वील चियरमा आतिथ्यता तथा वरिष्ठ साहित्यकार, पत्रकारहरूकाे सहभागितामा पुस्तक सार्वजनिक भएको हो ।
कार्यक्रममा मेडिकेयर हस्पिटल चावहिलमा कार्यरत वरिष्ट युरोलोजिष्ट डा अर्जुनदेव भट्टका सार्वजनिक चार कृतिको चर्चा-परिचर्चा तथा समीक्षा पनि भएको थियो । ‘अविछिन्नता’ उपन्यासमाथि साहित्यकार ठाकुर शर्मा भण्डारी, ‘अभिज्ञान प्रतिक्षा’ उपन्यासमाथि समालोचक लिला लुइटेलले आफ्नो समालोचनात्मक धारणा राखेका थिए भने निबन्धकार एवम् समालोचक युवराज मैनालीले कथासंग्रह ‘कल्पनाको क्षितिजमा’ र साहित्यकार कलानिधि दहालले ‘दोस्रो जीवनको चुरो’ उपन्यासमाथि समीक्षा गरेका थिए ।
मेडिकेयर हस्पिटलका सञ्चालक समितिका अध्यक्ष तथा वरिष्ठ पेटरोग विशेषज्ञ प्रदीपकुमार यादव, साझा प्रकाशनका भेषराज घिमिरे, ओरियण्टल प्रकाशनका प्रमुख तथा चिन्तक हरि गौतम, फरक क्षमताका नवराज कार्की, साहित्यकार सिर्जना शर्मा (लेखककी बहिनी), डा.घनश्याम पुडासैनी, संस्कृत विश्वविद्यालयका उप प्राध्यापक गोविन्द दाहाल र धनकुमारी सुनारले डा. भट्टलाई शुभकामना मन्तव्य राखेका थिए ।
यसअघि दर्जन कृति प्रकाशित गरिसकेका चिकित्सक भट्टले आफूले पुस्तक लेख्नाका कारणबारे गहन मन्तव्य राखेका थिए । उपचारको लागि हस्पिटलमा आईपुग्ने पात्रहरूले आफूलाई पुस्तक लेख्न बाध्य बनाएको उनको कथन थियो ।